
जिल्ला ट्राफिक कार्यालय उदयपुरले सोमबार दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कमा सोमावार लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई स्वास्थ्य परिक्षण गराईएको हो ।
उक्त स्वास्थ्य परिक्षण कार्यक्रम दिनैभर संचालन गरिएको ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले जानकारी दिनुभयो । पछिल्लो समय वढ्दो सवारी दुर्घटनालाई बिश्लेषण गरी हेर्दा सवारी दुर्घटनामा सार्बजनिक सवारी साधनहरुको संलग्नता धेरै देखिएको परिपेक्षमा सार्बजनिक सवारी साधनहरुबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ यस किसिमको कार्यक्रम गरिएको जिल्ला ट्राफिक कर्यालयका ट्राफिक इन्चार्ज पोखरेलले बताउनु भयो ।
पोखरेलका अनुसार ७० जना चालकहरुले आँखा र प्रेसरको जाँच गरेका छन् । चेक गरिएका मध्ये दुई जना चालकहरुमा आँखाको समस्या र ११ जनामा भने प्रेसरको समस्या देखिएको छ । ७० जना मध्य १३ जना चालकहरुमा स्वास्थय समस्या देखिएको थियो ।