
लिम्चुङबुङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार पर्यटन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले उदघाटन गर्नुभएको छ । मन्त्री मगरले स्थानीय तहको संरचना कायम भएको 6 वर्षपछि गाउँपालिका स्थानीयले नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउनेगरी भवन उद्घाटन गर्नुभएको हो ।
मन्त्री मगरले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नागरिकको काम छिटोछरितो र झन्झटरहित बनाउन भौतिक पूर्वाधारको पनि योगादन रहने भएकाले नवनिर्मित प्रशासनिक भवनबाट कर्मचारीसँगै सेवाग्राहीलाई पनि लाभ मिल्ने बताउनुभयो ।लिम्चुङबुङ गाउँपालिकामा पहिले पनि सेवा प्रभावकारी नै रहेको जनाउँदै अव थप सहज र प्रभावकारी सेवा पालिकाले दिने मगरले जनाए ।
लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई, उपाध्यक्ष पुष्पलाल राई, गाउँपालिकाका वडाध्यक्षहरु राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङका अनुसार २०७८ सालबाट निर्माण सुरु गरिएको प्रशासकीय भवन निर्माणको जिम्मा एएम पिउन्स जेभि ललितपुरले ४ करोड ६१ लाख ८० हजार एक सय ६६ रुपैया २७ पैसामा निर्माणको जिम्मा लिएको उहाँले बताउनुभयो ।