
उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव–२०८० हुने भएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुन १ देखि १० गते सम्म महोत्सव संचालन गरिने जनाएको छ ।त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा लगाईने छ ।
महोत्सवले विशेषगरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बताए ।‘उद्योग वाणिज्य संघले विभिन्न समय यहाँको उद्योग, व्यापार, कृषि एवं पर्यटनलगायत क्षेत्रको प्रवर्द्धनका लागि भूमिका खेल्दै आएको छ’, उनले भने, ‘यसैको निरन्तरतास्वरूप संघले महोत्सव आयोजना गर्दै छ ।’महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको पहिचान गरी बजार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । महोत्सवले पर्यटन विकास एवं सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष रसाइलीको भनाइ छ ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक वस्तुको प्रदर्शनी एवं बिक्री, हस्तकला, कृषि, जडीबुटी तथा पर्यटन एवं सूचना प्रविधिको प्रदर्शनी गरिनेछ । महोत्सवमा विभिन्न जिल्लाबाट विभिन्न व्यापारिक स्टल रहने संघको भनाई छ ।