
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवा गाउँमा देवरले बन्चरो प्रहार गरी भाउजूको हत्या गरेका छन् ।सोमबार बिहान १० बजेतिर आफ्नै जेठी भाउजू अन्दाजी ३२ वर्षीया तञ्जिला खातुनलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।
आफ्नै देबर नाता पर्ने २५ वर्षीय जियाउल राइनले जेठी भाउजू तञ्जिला लाई हत्या गरेको लहान प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। लागूऔषध सेवन गरेर लठ्ठ परेका जियाउलले बञ्चरो प्रहार गरेर भाउजू को हत्या गरेको खुल्न आएको छ।’प्रमुख प्रहरी नायब उपरीक्षक भट्टले भने।
बन्चरो प्रहारबाट भाउजू आँगनमै ढलेपछि जियाउल राइन गाउँदेखि पूर्वपट्टि पर्ने बलान खोला हुँदै भागेर सप्तरीको सुरुंगा नगरपालिकाको थलहा टिकुलिया पुगेका थिए। उनलाई इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी र गाउँलेको सहयोगमा बिहान ११ बजेतिर पक्राउ गरिएको हो
मृतकको श्रीमान् सलिम राइन वैदेशिक रोजगारीको क्रममा पछिल्लो करिब आठ वर्षदेखि कुवेतमा रहेकाले तञ्जिलाले सात वर्षका छोरा र पाँच वर्षीया छोरीको साथमा घर–व्यवहार चलाउँदै आएकी थिइन्।गाउँलेका अनुसार लागुऔषध अत्यधिक सेवन गर्दै आएका जियाउलले यसअघि पनि परिवारका सदस्यलाई पटकपटक आक्रमणको प्रयास गर्दै आएका थिए।